सबै रोगको एउटै औषधि–सिटामोल

१४ पुस, म्याग्दी ।


सबै रोगको एउटै औषधि–सिटामोल । झट्ट सुन्दा आश्चर्य लागेर आउँंछ । तर म्याग्दी जिल्लाको पश्चिमी क्षेत्रका विकट गाउँमा रहेका उपस्वास्थ्य चौकीमा उपचार गराउन आउने बिरामीले यस्तै औषधि पाउने गरेका छन् ।

जिल्लाका लुलाङ, मुना, भकिम्ली, हिस्तान, विमलगायत उपस्वास्थ्य चौकीमा औषधिको अभाव भएपछि सिटामोल मात्र लिएर फर्कनु परेको स्थानीयले बताएका छन् । दैनिक ५० भन्दा बढी बिरामी उपचार गराउन आउने ती उपस्वास्थ्य चौकीमा औषधिको नाममा सिटामोल मात्र रहेको चिकित्सकले बताएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयले दिने अन्य औषधि कहाँ जान्छन् त ! स्थानीयवासीको एउटै उत्तर  रहेको छ– ‘अत्यन्त न्यून मात्रामा आउने हुँदा छिट्टै सकिन्छ, कतिपय औषधि त म्याद नाघेका  हुँदा प्रयोग गर्न नमिल्ने खालको हुन्छ ।’

जिल्ला स्वास्थ्य कार्यालयले सबै स्वास्थ्य केन्द्रमा आवश्यकताअनुसारको सबै औषधि त दिन्छन् तर त्यस क्षेत्रमा बिरामीले सिटामोलमै भर पर्नु सबैभन्दा ठूलो विडम्बना रहेको स्थानीयवासीको भनाइ छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.