चीनमा मानव निर्मित नदीको पानीको बेइजिङ पुग्यो (फोटो फिचर)
दान्जियाङकाउ (चीन) : संसारलाई आश्चर्यमा पार्दै चीनमा तयार मानव निर्मित नदीको पानी राजधानी बेइजिङ पुगेको छ । लेनाएकाचीनको मध्यभागस्थित चीनकै दोस्रो ठूलो एलो नदीमा बाँध बाँधेर तयार पारिएको कृत्रिम नदीमा छाडिएको पानी बहाव एक हजार किलोमिटर पर बेइजिङसम्म पुगेको हो ।
चीनको राजधानीले शनिबार दक्षिण–उत्तर पानी प्रसारण परियोजनाको पहिलो प्रवाह प्राप्त गरेको समाचार सिन्ह्वाले छापेको छ । यसलाई चीनको इतिहासमा सबैभन्दा महत्वाकांक्षी इन्जिनियरिङ परियोजनाको रूपमा हेरिएको छ ।
३३ अर्ब अमेरिकी डलर खर्चेर ११ वर्षमा तयार पारिएको कृत्रिम नदीको पानी मध्य चीनको बेइजिङमा पुगेपछि सो क्षेत्रका मानिसको प्यास मेटाउने विश्वास गरिएको छ ।
परियोजनाबाट बनेको कृत्रिम नदीबाट प्रतिवर्ष एक अर्ब घनमिटर पानी एक हजार चार सय किलोमिटर पर नहर र पाइपबाट पठाउने लक्ष्य लिइएको छ । यो दूरी युरोपमा लन्डनदेखि स्पेनको म्याड्रिडसम्मको जत्तिकै छ ।
बेइजिङस्थित नगर प्रशासनले एक लिखित सन्देश पठाइ बेइजिङले यस नदीबाट औपचारिक रूपमा शनिबारबाट पानी पाउन थालेको जानकारी दिएको छ । यसै मार्गमा अन्य प्रान्तहरूमा ८.५ अर्ब घनमिटर पानी पुग्ने जानकारी दिइएको छ । यो पानीको मात्रा ३४ लाख ओलम्पिक आकारका पौडी पोखरी जत्रो हुनेछ ।
चिनियाँ सरकारले तीन मार्गको यस परियोजनाको अनुमानत लागत ८१ अर्ब अमेरिकी डलर बराबर भएको जानकारी दिँदै यसले चीनको उत्तरी नगरमा पानी आपूर्तिमा कमी समाधान गर्ने अपेक्षा गरेको छ ।
बेइजिङमा प्रतिव्यक्ति पानी उपलब्धता मध्यपूर्वी मुलुक इजरालयको जस्तै छ । यसले त्यहाँको आर्थिक वृद्धिलाई चुनौती दिएको छ । वास्तवमा चीनको आर्थिक नीति नै सत्ताधारी कम्युनिस्ट पार्टीप्रतिको प्रमुख समर्थन भएको छ ।
चीनको मध्यभागमा रहेको हुबेइ प्रान्तको दानजियाङकाउको एक सय १० मिटर अग्लो बाँधमाथि बसेर एक पथप्रदर्शकले यो पानी उत्तरसम्म जानुपर्ने बताए । उनी बसेको क्षेत्र बेइजिङको समुद्र सतहबाट एक सय २० मिटरमाथि रहेको छ र यो पानी प्रवाह गुरुत्वाकर्षण शक्तिमा मात्रै भर परेको छ ।
इन्जिनियरिङ आधारमा एलो नदीको तल्लो भागमा रहेको ७.२ किलोमिटर लामो सुरुङ चीनको सबैभन्दा ठूलो पानीमार्ग भएको छ । यसलाई आधिकारिक प्रतिवेदनमा मानव इतिहासमा नदी तर्ने सबैभन्दा ठूलो परियोजनाको नाम दिइएको छ ।
हेनान प्रान्तमा एक नदीको माथिल्लो भागबाट पानी प्रवाह गर्न चिनियाँ इन्जिनियरहरूले १२ किलोमिटरको एक्वेडक्ट अर्थात पानीपुल बनाएका छन् । यसलाई विश्वको सबैभन्दा लामो पानीपुल भनिएको छ ।
दक्षिणमा वर्षा घटेपछि यो परियोजनाको सफलता प्रभावित हुने बताएको छ । आलोचकहरूले यसले उत्तरी भागको माग पूर्ति गर्न अस्थायी रूपमा मात्र काम गर्ने बताएका छन् ।
चीनको उत्तरी भागले करिब आधा जनसङ्ख्या, अर्थतन्त्र तथा कृषियोग्य भूमिको दुई तिहाइ भाग ओगटेको छ । यसो भए पनि यसले कूल पानी आपूर्तिको २० प्रतिशत मात्र पाउने गरेको विश्व बैङ्कले उल्लेख गरेको छ ।
सन् १९५२ मा यलो नदीलाई हेरेर चिनियाँ संस्थापक नेता माओ जेदोङले चीनको उत्तरी भागलाई पानी आवश्यक भएको र दक्षिणमा पर्याप्त पानी भएको अवस्थामा केही पानी त्यहाँबाट सापट लिन सम्भव भए राम्रो हुने बताएका थिए ।
नेता माओको यसै भनाइका कारण उक्त परियोजना आरम्भ भयो र त्यसको अध्ययन पनि आरम्भ भयो । यसो भए पनि त्यसमा प्राविधिक रूपमा प्रश्न गरियो र पूँजीको अभावमा उक्त परियोजनालाई जियाङ जेमिनको पालासम्म रोकेर राखियो । सन् २००२ मा उक्त परियोजनालाई स्वीकृति दिइयो ।
बेइजिङमा प्रतिव्यक्ति पानी उपलब्धताकोस्तर एक सय २० घनमिटरमा पुगेपछि यो कृत्रिम बनाउनुपर्ने आवश्यकता अझै बढ्यो । यो स्तर अल्जेरियाको भन्दा कम हो र यमनको बराबर हो । यी दुबै मुलुक मरुभूमियुक्त मुलुक हुन् ।
यस परियोजनाको पूर्वी भाग एक हजार ४ सय वर्ष पुरानो ग्रान्ड क्यानलसँगै बनेको छ । त्यसबाट गत वर्ष याङजेबाट सानदोङसम्म पानी आइपुगेको थियो । उक्त पानीमा प्रदूषणको चिन्ता पनि गाँसिएको थियो ।
सीसीटीभीले गत वर्ष दानजियाङकाउ बाँध चुहावट तथा मानव प्रदूषणबाट प्रभावित भएको जानकारी दिएको थियो । यसपछि अधिकारीहरूले दानजियाङको माथिल्लो भागमा रहेका हजारौँ कारखाना बन्द गरिदिएका थिए र अब उनीहरूले पानी खान लायक भएको बताएका छन् ।
चीनको दक्षिणी भागमा हाल वर्षा घट्दै गएको देखिएको छ र यसको अर्थ यसले अब नियमित रूपमा सुखा भोग्नुपर्नेछ । यसैले विश्लेषकहरूले यसका कारण परियोजनाले पीडा भोग्नुपर्ने धारणा राखेका छन् ।
यस केन्द्रीय मार्गमा रहेका तीन लाख ३० हजार व्यक्तिलाई अन्यत्र सार्नुपरेको बताइएको छ । प्रति वर्ष १.०५ अर्ब घनमिटर पानी बेइजिङमा पुग्ने भए पनि यो नगरको प्यास बुझाउन पर्याप्त नभएको ठानिएको छ ।
हाल चीनका नगरहरू धनी बन्दै गएको अवस्थामा नागरिकको पानीको उपभोग बढ्ने अपेक्षा गरिएको छ । बेइजिङको पानीको प्रयोग प्रतिवर्ष ३.६ अर्ब घनमिटर पुगेको छ र हाल २.१ अर्ब घनमिटर मात्र आपूर्ति भएको छ । यसको अर्थ अहिले नै १.५ अर्ब घनमिटर कमी भइरहेको छ ।
वातावरणविदहरूले पानीको संरक्षण तत्कालैको प्राथमिकता भएको र मूल्य वृद्धि गर्नुपर्ने धारणा राखेका छन् । हाल प्रति घनमिटर पानीको मूल्य चार युआन बराबर रहेको छ । पोर्टल्यान्ड राज्य विश्वविद्यालयका भूगोलशास्त्रका सहायक प्राध्यापक क्रो मिलरले यस परियोजनाले आपूर्ति पक्षलाई ध्यान दिएको र पानीको कमीलाई ध्यान नदिएको बताए । उनले वर्तमान विकास नमुना अल्पदृष्टियुक्त भएको दाबी गरे ।
0 comments
Write Down Your Responses