पत्नीको हत्यामा संलग्न डिआईजी कोइराला बर्खास्त
काठमाडौं : पत्नीको हत्यामा संलग्न भर्इ जेल सजाय भोगिरहेका सशस्त्र प्रहरीका डिआईजी रञ्जन कोइराला सरकारी सेवाबाट बर्खास्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले डिआईजी कोइरालालाई आगामी दिनमा सरकारी सेवामा अयोग्य हुने गरी बर्खास्त गर्ने निर्णय गरेको हो ।
डिआईजी कोइरालाले पत्नी गीता ढकालको २०६८ माघमा हत्या गरी उनको शव मकवानपुरको पालुङमा फ्याकेका थिए । गीतको शव २०६८ माघ ९ गते मकवानपुरको पालुङमा टुक्राटुक्रा पारेको अवस्थामा भेटिएको थियो ।
१० वर्षदेखि पत्नी गीतासँग छुट्टिएर बस्दै आएका ढकालले प्रेमिकासँग मिलेर पत्नीको हत्या गरेको अभियोग लागेको थियो । २०६८ पुस २८ मा पत्नीको हत्या गरेपछि सशस्त्र प्रहरीको सम्पर्क बाहिर रहेका डिआईजी कोइरालालार्इ प्रहरीले काठमाडौंको थानकोटबाट २०६८ माघमा पक्राउ गरेको थियो ।
डिआईजी कोइरालालाई पत्नी हत्या अभियोगमा काठमाडौं जिल्ला अदालतले २०६८ फागुन १४ गते थुनामा राख्न आदेश दिएको थियो । विशेष अदालतले गत वैशाख ७ गते पत्नीहत्या गरेको पुष्टि गर्दै कोइरालालाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो। कोइराला अहिले डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका छन्।
सशस्त्र प्रहरीले डिआईजी कोइरालालाई सेवाबाट बर्खास्त गर्न मंसिर तेस्रो साता गृहमन्त्रालयमा पत्र पठाएको थियो । हत्या अभियोग लागेपछि निलम्बनमा रहेका कोइरालालाई सशस्त्रको पत्रपछि सरकारले बर्खास्त गर्ने निर्णय गरेको हो ।
0 comments
Write Down Your Responses